काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नेपालका १४ जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा घटेको छ । कम्पनीहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार ६ महिनाको अवधिमा यी कम्पनीहरूले कुल ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७३ प्रतिशतले कम हो ।
गत वर्ष यही अवधिमा जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका थिए । यसपटक समग्र नाफा घट्नुको मुख्य कारण बजारका ठूला र पुराना कम्पनीहरूको नाफामा देखिएको उल्लेख्य गिरावट रहेको विश्लेषण गरिएको छ ।
तथ्याङ्कअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ५२.०३ प्रतिशतले घटेको छ । गत वर्ष ८० लाख ६५ हजार रुपैयाँ नाफा गरेको यो कम्पनीको नाफा चालु वर्षको ६ महिनामा घटेर ३८ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।
यस्तै, हिमालयन लाइफको नाफा ४५.०६ प्रतिशत, नेपाल लाइफको २७.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २७.०७ प्रतिशत र मेट लाइफको नाफा ८.५६ प्रतिशतले घटेको छ ।
तर, प्रतिकूल अवस्थाका बीच पनि ९ वटा जीवन बीमा कम्पनीहरूले भने नाफा बढाउन सफल भएका छन् । तीमध्ये एलआइसी नेपालले सबैभन्दा उच्च ५८.३६ प्रतिशत नाफा वृद्धि हासिल गरेको छ । एलआइसी नेपालले गत वर्षको ६ महिनामा १४ करोड १८ लाख रुपैयाँ नाफा गरेकोमा यो वर्ष बढेर २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
नाफाको आकारका आधारमा भने रिलायबल नेपाल लाइफ ३९ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । गत वर्षको सोही अवधिमा ३५ करोड ३ लाख ९० हजार रुपैयाँ नाफा गरेको रिलायबलको मुनाफा यो वर्ष १२.९८ प्रतिशतले बढेको हो ।
यसैगरी सानिमा रिलायन्स लाइफको नाफा १९.२१ प्रतिशतले, एशियन लाइफको ५.३ प्रतिशतले, सूर्यज्योति लाइफको २.२९ प्रतिशतले, नेशनल लाइफको २.७६ प्रतिशतले, सन नेपाल लाइफको १.११ प्रतिशतले र आईएमई लाइफको नाफा १.०४ प्रतिशतले बढेको छ ।
सबैभन्दा कम नाफा वृद्धि भने सिटिजन लाइफको देखिएको छ । कम्पनीको नाफा ६ महिनामा मात्र ०.२४ प्रतिशतले बढेको हो ।
नाफामा केही गिरावट देखिए तापनि बीमा व्यवसायको पहुँच र विस्तार भने निरन्तर बढ्दो क्रममा छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा १४ जीवन बीमा कम्पनीका कुल सक्रिय बीमालेख संख्या १ करोड १४ लाख ५५ हजार २३५ पुगेको छ । कम्पनीहरूले देशभरबाट कुल ९ खर्ब ४३ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्रादेशिक रूपमा हेर्दा बीमा व्यवसायमा बागमती प्रदेशको वर्चस्व देखिएको छ । कुल बीमाशुल्कको करिब ४४ प्रतिशत अर्थात् ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ बागमती प्रदेशबाट मात्रै संकलन भएको छ । त्यसपछि लुम्बिनी प्रदेशबाट १५ अर्ब १५ करोड र कोशी प्रदेशबाट ११ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
