काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नियमविपरीत कार्य गरेको भन्दै तीनवटा वाणिज्य बैंकमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकका अनुसार एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक विभिन्न नियामकीय प्रावधान उल्लंघनमा दोषी ठहरिएका हुन् ।
राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशनहरू पटक–पटक उल्लंघन गरेको र लिखित आदेशसमेत पालना नगरेको पाइएको छ । सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई जनही २–२ लाख रुपैयाँ नगद जरिवाना गरिएको हो ।
यता, ग्लोबल आइएमई बैंकको हकमा २०८२ सालमा गरिएको स्थलगत निरीक्षणका क्रममा विभिन्न कमजोरीहरू फेला परेपछि बैंकका सीईओलाई सचेत गराइएको छ । निरीक्षणका क्रममा बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) पर्याप्त नगरेको, कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । साथै, बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै मितिमा पुनः सिर्जना गर्न सकिने प्राविधिक कमजोरी समेत भेटिएको थियो ।
त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नगराएको तथा धितोले खाम्ने सीमाभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ । बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) २ प्रतिशत विन्दुभन्दा बढी कायम गरेको र त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी सो रकम पुरानो ऋण असुलीमा प्रयोग गरेको देखिएको राष्ट्र बैंकको भनाइ छ । यी कमजोरीका कारण बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको छ ।
