नेशनल लाइफको सिइओ क्लब सम्मान, अभिकर्तामा नयाँ उत्साह

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यसहित जनकपुरस्थित मिथिला यात्रीमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क लक्ष्य पूरा गरी सिइओ क्लब सदस्य बन्न सफल मधेश प्रदेशका ७७ जना अभिकर्ताहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेश प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । सो अवसरमा मधेश प्रदेशबाट सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो । साथै, नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित विशेष सम्मान प्रदान गरिएको थियो । प्रदेश स्तरमा आफ्ना कोड र संजालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरू पनि विशेष रूपमा पुरस्कृत भएका थिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले अभिकर्ता–मैत्री योजना अन्तर्गत वार्षिक रूपमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्ने उद्देश्यले सिइओ क्लबको अवधारणा ल्याइएको बताए । यस अवधारणा अन्तर्गत नेपालभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु यस कार्यक्रमको सफलताको प्रमाण भएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धिसम्बन्धी व्यवहारिक र उदाहरणमूलक तालिम प्रदान गरेका थिए ।

यसै अवसरमा जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए । सहभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा सम्मान र गुणस्तरीय तालिम प्राप्त गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।