मतदाता शिक्षाका लागि देशव्यापी कार्यक्रम आजदेखि सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन मात्र बाँकी रहँदा, निर्वाचन आयोग नेपालले आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यक्रम निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत विशेष कार्यक्रमअनुसार सञ्चालन हुने भएको छ।

मतदाता शिक्षा कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन गरिनेछ। प्रत्येक वडा तथा बस्तीमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व, मतदान प्रक्रिया र जनताको मताधिकारबारे जानकारी दिनेछन्।

निर्वाचन आयोगले मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउनेमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। आयोगका सचिव नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार जगतसँग समन्वय गरी कार्यलाई प्रभावकारी बनाउने तयारी गरिएको छ।