वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा कार्यालयले राखेको १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँको लक्ष्यको ८८.०७ प्रतिशत सङ्कलन भएको छ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कार्यालयको भन्सार सङ्कलनको प्रदर्शन उत्साहजनक रहेको छ। साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड र पुसमा २० अर्ब २० करोड राजस्व सङ्कलन भएको थियो।
माघ महिनामा २१ अर्ब २९ करोडको लक्ष्य राखिएकोमा १८ अर्ब ९० करोड मात्र सङ्कलन भए पनि कार्यालयले वर्षभरि दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने भन्सार विभागको लक्ष्यतर्फ सकारात्मक प्रगति गरेको छ।
