निर्वाचन माहोल सक्रिय, आजदेखि औपचारिक प्रचार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ दिन बाँकी रहँदा आजदेखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार गर्न पाउने भएका छन्। निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न सकिने व्यवस्था रहेको छ।

सोही प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्नेछन्। निर्वाचन आयोग ले निर्वाचनको निष्ठा र स्वच्छतालाई प्राथमिकतामा राख्दै सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। यही सीमाभित्र रहेर उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन्।

आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको खण्डमा दल वा उम्मेदवारलाई पत्र काटी स्पष्टीकरण सोधिने र कानुनी कारबाहीसम्म जान सक्ने अवस्था नआओस् भन्ने आयोगको स्पष्ट सन्देश छ।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक छलफल गरेर तयार गरिएको स्मरण गराउँदै आयोगले सबै दलले यसको पालना गर्ने प्रतिबद्धता जनाइसकेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार आचारसंहिता उल्लङ्घनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ। उल्लङ्घनको प्रकृति हेरेर सचेत गराउनेदेखि दण्ड–जरिवाना र उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको उनले जानकारी दिए।

यसैगरी, दल र उम्मेदवारहरूले तोकिएका मापदण्डका आधारमा पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापनका माध्यमबाट पनि प्रचार गर्न सक्नेछन्। आमसभा र कोणसभा गर्दा मञ्च निर्माणलगायत प्रचारका लागि लागेको खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल, अनलाइन माध्यम वा सङ्गठित रूपमा फैलाइने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिमा कडाइ गरिने स्पष्ट पारेको छ। स्वच्छ, मर्यादित र अनुशासित प्रचारमार्फत निर्वाचनलाई सफल बनाउन आयोगले सबै पक्षको जिम्मेवार भूमिकाको अपेक्षा गरेको छ।