नागढुङ्गा–मलेखु सडकमा कालोपत्रले गति लियो

चितवन । पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङ्गा–मलेखु सडक स्तरोन्नति तथा कालोपत्रको काम तीव्र बनाइएको छ। हालसम्म यस खण्डमा ११ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ। गत वर्ष ८ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप ३ किलोमिटरमा कालोपत्र भएको हो। बाँकी खण्डमा पनि तीव्र गतिमा काम भइरहेको आयोजना पक्षले जनाएको छ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित यो सडकको ठेक्का लगाइएको थियो। तोकिएको समयमा काम पूरा हुन नसकेपछि ६ महिनाको म्याद थप गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएको थियो, जसअन्तर्गत यो परियोजना तेस्रो चरणमा पर्दछ। यही पुस १५ गते म्याद सकिएपछि पुनः ६ महिनाका लागि समय थपिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरै का अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको छ। कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र सम्पन्न भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा कालोपत्रको काम जारी छ।

फिस्लिङ र जवाङ खोलाको क्षेत्रमा बेस तथा सबबेस बिछ्याएर कालोपत्रको अन्तिम तयारी भइरहेको इञ्जिनियर दरैले जानकारी दिए। सडक स्तरोन्नतिसँगै यात्रुहरूका लागि सुरक्षित र सहज आवागमन सुनिश्चित हुने अपेक्षा गरिएको छ।