काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवामार्फत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापना चरणदेखि सार्वजनिक सेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा दिँदै आएको छ। यही सेवाअन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईस्टर्न नेपाल लिमिटेडले जारी गर्ने आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ।
होटेल ईस्टर्न नेपाल मेचिनगर–१०, झापामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटल हो। होटल सञ्चालनका लागि विश्वप्रसिद्ध ब्रान्ड Holiday Inn Express & Suitesसँग व्यवस्थापकीय सम्झौता सम्पन्न भइसकेको छ। उक्त ब्रान्ड InterContinental Hotels Group Asia Pacificअन्तर्गत सञ्चालन हुने भएकाले होटलको समग्र व्यवसाय विस्तार, सञ्चालन र व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहनेछ।
निर्माणको अन्तिम चरणमा पुगेको होटलले २०८३ साल वैशाखभित्र नियमित सञ्चालनका लागि बुकिङ खुला गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। सञ्चालनमा आएपछि पाँचतारे स्तरका सुविधा—क्यासिनो, उच्चस्तरीय गेमिङ र मनोरञ्जन, छतमा स्विमिङ पुल, सुइट तथा आधुनिक कोठा, बहुभान्साघर, छतमा रेस्टुरेन्ट, ज्याकुजी, स्पा, स्वास्थ्य क्लब, इन–हाउस लन्ड्री र व्यावसायिक हाउसकीपिङ—उपलब्ध हुनेछन्।
भौगोलिक दृष्टिले होटल भारतीय सीमाबाट करिब ७ किलोमिटर र बागडोरा (भारत) विमानस्थलबाट करिब २७ किलोमिटर टाढा रहेकाले भारतीय पर्यटकको उपस्थिती उल्लेख्य रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका सेवा–सुविधासहित सञ्चालनमा आएपछि होटलले नेपालको पर्यटन विकासमा योगदान पुर्याउने, सेमिनार, सम्मेलन तथा गोष्ठी आकर्षित गर्ने र वैदेशिक मुद्रा आर्जनमार्फत अर्थतन्त्र सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
उता, एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरणदेखि साधारण सेयर निष्कासनसम्म आवश्यक परामर्श उपलब्ध गराउँदै आएको छ। उक्त सेवा लिन चाहने कम्पनीका लागि क्यापिटलले प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क व्यक्ति तोकेको छ।
