काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते ४० अर्ब रुपैयाँ बराबरको निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ८९ दिनका लागि उक्त रकम बजारबाट खिच्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गरिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्मका लागि ब्याजदर उल्लेख गरी बोलकबोल गर्न सक्नेछन्।
८९ दिन अवधिको यो निक्षेप संकलन उपकरणमार्फत उठाइएको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ साल जेठ ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा देखिएको अधिक तरलतालाई सन्तुलनमा राख्न यस्तो कदम चालिएको हो। यसले अल्पकालीन ब्याजदर स्थिर राख्न र वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
