आज केहि प्रदेशमा वर्षा

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज बुधबार, काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस छ।

हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात तथा पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।