काठमाडौं । मेटलाइफ नेपाल ले बीमाबारे जनचेतना विस्तार गर्ने उद्देश्यसहित देशका विभिन्न जिल्लामा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठ को नेतृत्वमा एजेन्सी टोलीले आयोजना गरेको यस अभियानमार्फत ८०० भन्दा बढी नागरिक, व्यवसायी तथा सामुदायिक प्रतिनिधिलाई प्रत्यक्ष रूपमा बीमाको महत्त्वबारे जानकारी गराइएको छ।
१३ वटा विभिन्न शहरमा सञ्चालन भइरहेको यो पहलले ग्रामीण क्षेत्रका परिवारलाई भविष्य सुरक्षित बनाउँदै आत्मनिर्भर भएर अघि बढ्न प्रेरित गर्ने लक्ष्य लिएको छ। पूर्वको इलामदेखि पश्चिमको महेन्द्रनगरसम्म आयोजित कार्यक्रममा स्थानीय समुदायले बीमाको उद्देश्य, आवश्यकता र व्यावहारिक तर्क बुझ्ने अवसर पाएका छन्।
कार्यक्रमका क्रममा मेटलाइफ नेपालले स्थानीयसँग खुला संवाद गर्दै बीमालाई ‘खर्च’ मात्र भन्ने भ्रम, गलत बुझाइ र अविश्वास हटाउन जोड दिएको छ। बीमालाई जीवनका अनिश्चिततासँग जुध्ने ‘जीवन सुरक्षा उपकरण’ का रूपमा प्रस्तुत गर्दै वास्तविक जीवनका उदाहरणमार्फत जोखिम व्यवस्थापन, परिवारको सुरक्षा र आर्थिक स्थायित्वबारे स्पष्ट गरिएको छ।
प्रत्येक कार्यक्रममा सहभागीले आफ्नै जीवनका जोखिम, परिवारले सामना गर्न सक्ने चुनौती र बीमाले कसरी सहारा दिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक रूपमा बुझ्ने अवसर पाएका छन्। यसले सहभागीहरूको सोच र व्यवहार दुवैमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
मेटलाइफले ‘कस्टमर फर्स्ट’ नारालाई व्यवहारमा उतार्दै बीमालाई भविष्यको अनिश्चितता रोक्ने सुरक्षा कवच, बालबालिकाको शिक्षादेखि स्वास्थ्य उपचारसम्मका सपनालाई जोगाउने आर्थिक आधार र आपत्–विपत्सँग लड्ने शक्तिका रूपमा पुनःपरिभाषित गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन बीमा संस्कृतिको निर्माण, वित्तीय स्थायित्वको वृद्धि र देशभरका परिवारलाई सुरक्षित भविष्यतर्फ अघि बढाउने दिशामा यो अभियानलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
