ट्याक्सी सेवामा विकल्प विस्तारको प्रस्ताव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ का केही व्यवहारिक र नीतिगत पक्षमा संशोधनको माग गरेको छ। नाइमाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष औपचारिक रूपमा सुझाव पेश गर्दै मापदण्डमा तोकिएका प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टीकरण पूरा गर्ने सवारी साधनलाई विना अवरोध ट्याक्सी सेवामा समावेश गर्न आग्रह गरेको हो।

नाइमाका अनुसार मापदण्ड २०८१ ले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरेको छ र प्रत्येक वर्गका लागि स्पष्ट प्राविधिक तथा सुरक्षा मापदण्ड तय गरेको छ। ती सर्तहरू पूरा गर्ने जुनसुकै सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने कानुनी व्यवस्था रहेको संघले स्मरण गराएको छ।

हाल बागमती प्रदेश मा व्यवहारिक रूपमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएकोप्रति नाइमाले ध्यानाकर्षण गराएको छ। राष्ट्रिय मापदण्डले तोकेका सबै सर्त पूरा गर्ने अन्य उपयोगी तथा यात्रुमैत्री सवारीलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुपर्ने स्पष्ट आधार नदेखिएको नाइमाको तर्क छ। सिडान बाहेकका अन्य वर्गका सवारीलाई पनि अनुमति दिँदा सेवा प्रदायकलाई सञ्चालनमा लचकता बढ्ने र यात्रुले समूहको आकार तथा आवश्यकताअनुसार थप विकल्प पाउने नाइमाले उल्लेख गरेको छ।

विश्वका विभिन्न देशमा फरक–फरक आकार र वर्गका सवारी साधन ट्याक्सीका रूपमा सञ्चालन भइरहेको उदाहरण दिँदै नाइमाले नेपालभित्रै पनि प्रदेश र सहरअनुसार ट्याक्सी अनुमतिमा व्यवहारिक असमानता देखिएको जनाएको छ। मापदण्डअनुसार योग्य सवारीलाई अनुमति दिइए यात्रुका लागि पर्याप्त सुविधा, सामान राख्ने स्थान र अपाङ्गता मैत्री पहुँच सुनिश्चित हुने दाबी गरिएको छ।

नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू उद्योगगत अनुभव र सेवा गुणस्तर अभिवृद्धिका लागि प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ।