काठमाडौं । मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष बढिरहे पनि यसको व्यवस्थापन प्रभावकारी र सुरक्षित अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मात्र सरकारले सार्वजनिक ऋणको सावाँ र ब्याजमा १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक ऋणतर्फ १ खर्ब २६ अर्ब ७६ करोड सावाँ र २८ अर्ब ३७ करोड ब्याज भुक्तानी गरिएको छ। बाह्य ऋणतर्फ भने २६ अर्ब १३ करोड सावाँ र ५ अर्ब ८५ करोड ब्याज भुक्तानी भएको छ। यसरी कुल १ खर्ब ५५ अर्ब १३ करोड आन्तरिक तथा ३१ अर्ब ९९ करोड बाह्य ऋण भुक्तानी भएको छ।
पछिल्लो दशकमा सार्वजनिक ऋण करिब छ गुणाले बढेको छ। १० वर्षअघि पाँच खर्ब ४४ अर्ब ९१ करोड रहेको सार्वजनिक ऋण असार २०८१/८२ सम्म २६ खर्ब ७४ अर्ब चार करोड पुगेको थियो। चालु आर्थिक वर्ष मंसिरसम्म सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेयले भने, “नेपालले संयमित हिसाबले मात्र ऋण लिएको छ। सार्वजनिक ऋण अनुत्पादक क्षेत्रमा खर्च भएको छैन र भविष्यमा पनि उत्पादनशील क्षेत्रमा लगानी हुनेछ। हालसम्म कर्मचारीको तलबभत्ता भुक्तानी गर्न ऋण प्रयोग गरिएको छैन। सरकारले विकास र पुँजिगत खर्चका लागि मात्रै ऋणको सदुपयोग गर्दै आएको छ। नेपालको ऋण जोखिमको अवस्थामा छैन।”
सरकारले चालु खर्च, विकास आयोजना र विभिन्न पुँजीगत कार्यक्रमहरूमा ऋणको प्रभावकारी प्रयोग गर्दै समृद्धि र आर्थिक विकासमा योगदान पुर्याइरहेको अर्थ मन्त्रालयको भनाइ छ।–न्युज एजेन्सी नेपाल
