कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, ३ लाख ६० हजार विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै साधारण, परम्परागत र प्राविधिक विषय समूहका नयाँ तथा पुरानो पाठ्यक्रमका साथै ग्रेड वृद्धि परीक्षाको समयसीमा निर्धारण गरेको छ।

परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सका संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण साथै पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा पनि हुनेछ।

परीक्षा वैशाख २७ मा सम्पन्न हुने भएपनि अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः परीक्षा दिने व्यवस्था बोर्डले नगर्ने जनाएको छ। आकस्मिक बिदा परेमा पनि पूर्वसूचनाविना परीक्षा स्थगित हुने छैन।

यस वर्ष नियमित तर्फ करिब ३ लाख ६० हजार विद्यार्थी परीक्षा दिने तयारीमा छन्। गत वर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ९६ हजार ३४७ र आंशिक तर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए।