प्रजातन्त्र दिवसका अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय गरिमा जोगाउन सबैलाई सचेत बन्न आह्वान गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।
उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताएका छन्।
सन्देशमा अध्यक्ष ओलीले प्रजातन्त्र दिवसले तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने बताएका छन् । उनका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनु, संविधानको संरक्षण गर्दै लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्नु तथा विध्वंसबाट प्रभावित धरोहर, संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो ।
‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ –पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने। दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने । तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने,’ शुभकामना सन्देशमा भनिएको छ ।
ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सम्पूर्ण नेपालीमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।
