एजेन्सी । रुस–युक्रेनबीच चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यसहित अमेरिकाको मध्यस्थतामा स्विट्जरल्याण्डको जेनेभामा भएको त्रिपक्षीय वार्ता ठोस सहमतिबिनै सकिए पनि आगामी संवादका लागि सकारात्मक संकेत देखिएका छन्। मङ्गलबार अबेरदेखि बुधबार बिहानसम्म करिब दुई घण्टा चलेको यस बैठकलाई सहभागीहरूले “कठिन तर सार्थक” छलफलका रूपमा मूल्याङ्कन गरेका छन्।
अमेरिकी विशेष दूत स्टिभ विटकफले वार्ताप्रति आशावाद व्यक्त गर्दै संवादको निरन्तरतामा जोड दिए। यद्यपि रुसी र युक्रेनी टोलीले क्षेत्रीय अखण्डता र युद्धविरामका सर्तहरूमा अझै ठूला मतभेद रहेको स्वीकार गरेका छन्।
रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्कीले छलफल चुनौतीपूर्ण भए पनि ‘व्यावसायिक’ ढङ्गले अघि बढेको बताए र अर्को बैठक छिट्टै बस्ने संकेत दिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दृष्टिकोणमा गहिरो भिन्नता भएकाले वार्ता सहज नभएको टिप्पणी गरे।
यद्यपि युक्रेनी वार्ताकार रुस्तम उमेरभले छलफल “सारभूत र सघन” रहेको दाबी गर्दै समयसँगै सहमतिको आधार तयार हुन सक्ने संकेत दिए। “सबै पक्षबीच तालमेल मिल्न समय लाग्छ, त्यसैले सबै विवरण तुरुन्त सार्वजनिक गर्न मिल्दैन,” उनले भने।
वार्तापूर्व जेलेन्स्कीले रुसले अन्तिम चरणमा पुगेको संवादलाई जानीजानी लम्ब्याउन खोजेको आरोप लगाए। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्ध अन्त्यका लागि कूटनीतिक पहलमा सक्रिय देखिए पनि प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। ट्रम्पको दबाबप्रति प्रतिक्रिया दिँदै जेलेन्स्कीले केवल युक्रेनमाथि सम्झौताका लागि दबाब दिनु “अन्यायपूर्ण” हुने बताए।
मुख्य विवादित विषयमा युक्रेनको पूर्वी क्षेत्र डोनबास (डोनेट्स्क र लुहान्स्क) मा नियन्त्रण र ‘जापोरीझिया आणविक ऊर्जा केन्द्र’ रहेको छ। युरोपकै सबैभन्दा ठूलो मानिने जापोरीझिया आणविक ऊर्जा केन्द्र सन् २०२२ देखि रुसी नियन्त्रणमा छ। युक्रेनले यसको फिर्ती चाहेको छ र व्यवस्थापनमा अमेरिकासँग सहकार्य गर्न सकिने प्रस्ताव राखेको छ, तर यसमा रुस सहमत हुने सम्भावना कम देखिएको छ।
जेलेन्स्कीले अमेरिकी सञ्चारमाध्यम एक्सियोससँग कुरा गर्दै डोनबास सुम्पने कुनै पनि योजनालाई युक्रेनी जनताले जनमत संग्रहबाट अस्वीकार गर्ने स्पष्ट पारेका छन्।
यसअघि जनवरीमा अबु धाबीमा भएको वार्ताबाट केही कैदीबन्दीहरूको आदान–प्रदान भएको थियो। पछिल्लो बैठकपछि पनि अर्को चरणको कैदी साटासाट हुन सक्ने संकेत जेलेन्स्कीले दिएका छन्, जसले औपचारिक सहमतिबिनै भए पनि मानवीय पक्षमा प्रगतिको सम्भावना देखाएको छ।
