काठमाडौँ । अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न पछिल्लो परमाणु वार्ताबाट ठोस सहमति ननिस्किएपछि क्षेत्रीय सुरक्षा र कूटनीतिक सन्तुलन विश्व समुदायको ध्यानको केन्द्रमा परेको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्तामा केही प्रगति भए पनि गम्भीर मतभेद बाँकी रहेको बताइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता नै दीर्घकालीन रूपमा बुद्धिमानी विकल्प हुने संकेत गर्दै कूटनीतिक दबाब जारी राखेका छन्।
अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार राष्ट्रपति ट्रम्पको आदेश आएमा अमेरिकी सेना तत्काल प्रतिक्रिया दिन सक्ने तयारी अवस्थामा छ। मध्यपूर्व क्षेत्रमा अमेरिकी हवाई र नौसैनिक उपस्थिति बढाइएको छ र अत्याधुनिक विमानवाहक जहाज यूएसएस जेराल्ड फोर्ड पनि सो क्षेत्रमा पुग्ने सम्भावना रहेको बताइएको छ।
राष्ट्रपति ट्रम्पले हिन्द महासागरको चागोस टापुस्थित हवाई अड्डा प्रयोग गरेर सम्भावित कदम चाल्न सकिने संकेत गरेका छन्। यस विषयमा बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो, जहाँ विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नरले इरानसँगको संवादबारे जानकारी गराएका थिए।
यसैबीच, अमेरिकी दबाबका बीच इरानले रुससँग मिलेर ओमानको खाडीमा संयुक्त नौसैनिक अभ्यास गर्ने घोषणा गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानमाथि हुने कुनै पनि नयाँ आक्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
इरानले आफ्ना प्रमुख परमाणु स्थलहरू थप सुरक्षित बनाउन कङ्क्रिट र माटोले ढाक्ने काम तीव्र पारेको स्याटेलाइट तस्बिरहरूले देखाएका छन्। आक्रमणको सम्भावित समयलाई लिएर पनि संवेदनशीलता बढेको छ—आइतबार शीतकालीन ओलम्पिक सकिँदैछ भने बुधबारदेखि मुस्लिम समुदायको पवित्र महिना रमजान सुरु भएको छ।
रमजानको समयमा सैन्य कारबाहीले नकारात्मक सन्देश जाने भन्दै केही अमेरिकी सहयोगी राष्ट्रहरूले संयमता अपनाउन आग्रह गरेका छन्। कूटनीति र सम्भावित सैन्य विकल्पबीच सन्तुलन खोज्ने यो चरणमा आगामी केही दिन विश्वका लागि अत्यन्तै संवेदनशील रहने विश्लेषकहरूको भनाइ छ।
