मेची भन्सारको राजस्व उत्साहजनक

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा करिब १० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्दै सकारात्मक प्रगति देखाएको छ। कार्यालयले यस अवधिमा कुल ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व उठाएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिका लागि १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरिएको थियो। लक्ष्यअनुसार पूर्ण प्राप्ति नभए पनि पछिल्लो महिनामा उल्लेखनीय सुधार देखिएको छ।

विशेषगरी माघ महिनामा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन माघका लागि निर्धारण गरिएको लक्ष्यको १०२.३४ प्रतिशत हो। यसले पछिल्ला महिनाहरूमा व्यापारिक गतिविधि र भन्सार प्रशासनको कार्यक्षमता बढ्दै गएको संकेत गरेको छ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षभरि कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। अधिकारीहरूका अनुसार आगामी महिनाहरूमा आयात–निर्यात गतिविधि थप सक्रिय भएमा वार्षिक लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार