साउथ वेष्टर्नमा उत्सवमय शैक्षिक समारोह

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

काठमाडौँ । बसुन्धरास्थित साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बुधबार राजधानीमा स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कलेजले विश्वविद्यालयका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक र अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बिहानदेखि सुरु भई दिनभर चलेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि डा. राजेश केसी, सञ्चालक समिति तथा प्राध्यापकहरूलाई सम्मानसहित आसन ग्रहण गराइएको थियो। राष्ट्रिय गानपछि प्रमुख अतिथि, विशेष अतिथि तथा क्याम्पस प्रमुख इन्जिनियर दीपक धामीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रम संयोजक नानी मैया डंगोलले स्वागत मन्तव्य दिँदै कलेज विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिन्।

स्वागत सत्रमा बीएचएम २०२४ ब्याचका खुसी विश्वकर्मा, रबिशा श्रेष्ठ, सोनिया तामाङ र प्रतीक्षा दवाडीले “गुराँस फुल्दा” गीतमा नृत्य प्रस्तुत गरे। विविए २०२४ ब्याचका रोहन श्रेष्ठले नयाँ विद्यार्थीलाई स्वागत सम्बोधन गरे भने विविए २०२५ ब्याचका सुशील बास्तोलाले “गल्ती हजार हुन्छन्” गीत प्रस्तुत गर्दै सांगीतिक वातावरण सिर्जना गरे।

विदाइ सत्रमा विविए २०२२ ब्याचका विद्यार्थीहरूले “पिरती बस्यो” गीतमा नृत्य प्रस्तुत गरे र पासआउट विद्यार्थीहरूलाई ‘टोकन अफ लभ’ वितरण गरियो। साथै बीएचएम २०२४ ब्याचका निरज गुरुङको सांगीतिक प्रस्तुति र विविए २०२१ ब्याचको सांस्कृतिक नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनायो।

त्यसपछि सम्पन्न वार्षिक पुरस्कार वितरण समारोहमा शैक्षिक उत्कृष्टता, साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी विविए गोल्ड अवार्ड, वर्ष उत्कृष्ट शिक्षक, वर्ष उत्कृष्ट विद्यार्थी लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरियो। प्रमुख अतिथि, विशेष अतिथि तथा क्याम्पस प्रमुखले विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गरे।

कार्यक्रमको अन्तिम चरणमा ‘फ्रेसर शो’ आयोजना गरिएको थियो। विविए २०२५ ब्याचका विद्यार्थीहरूको सांस्कृतिक नृत्य, बीएचएम २०२३ ब्याचको अंग्रेजी गीत प्रस्तुति तथा विविए २०२५ ब्याचको “काले केटा” गीतमा नृत्यले समापन सत्रलाई उत्साहपूर्ण बनायो। मिस्टर तथा मिस फ्रेसर–२०८२ चयनका लागि ट्यालेन्ट शो, प्रश्नोत्तर र विभिन्न चरणहरू पनि सम्पन्न भएका थिए।

शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शनलाई एउटै मञ्चमा समेटिएको यस कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको कलेज प्रशासनले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार