चितवन । चितवनको भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरु भएको छ। नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार भरतपुरबाट हवाई यात्रा गर्ने यात्रु र उडानको चाप बढ्दै गएपछि रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको हो। हवाई इन्धनको अभावका कारण यात्रु र विमान सञ्चालनमा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनले बताए।
हाल भरतपुर विमानस्थलबाट दैनिक आठवटा उडान भइरहेका छन्। उडानको आवश्यकताअनुसार सजिलै इन्धन भर्न सकिने गरी व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ। ती काउन्टरबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिनेछ। प्रारम्भिक चरणमा निगमको सिनामङ्गल कार्यालयमा कार्यरत छ जना कर्मचारीमार्फत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।
हाल यहाँबाट दैनिक रूपमा भरतपुर–काठमाडौँ–भरतपुर उडान हुँदै आएको छ भने आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान पनि सञ्चालनमा छ।
बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिलिङ काउन्टर स्थापना भएपछि यात्रु र विमान दुवैका लागि सेवा थप सहज भएको बताए। “अब जहाजले काठमाडौंबाट अतिरिक्त इन्धन बोकेर आउनुपर्ने अवस्था हटेको छ, जसले उडान व्यवस्थापन र यात्रु सेवा दुवैमा सहजता ल्याएको छ,” उनले भने।
इन्धन सेवा सुरु भएसँगै भरतपुर विमानस्थलको सञ्चालन क्षमता बढ्ने र चितवन क्षेत्रको हवाई आवागमन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
