मेची क्राउनको व्यापारमा नयाँ उचाइ

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं । पूर्वी नेपालको झापामा सञ्चालित पहिलो पाँचतारे क्यासिनो एकीकृत रिसोर्ट ‘होटल मेची क्राउन’ (भेगास सिटी इन्टरटेनमेन्ट प्रालि) ले आर्थिक वर्ष २०२५ मा उल्लेखनीय व्यवसायिक प्रगति गरेको छ। कम्पनीले यस वर्ष ४४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२४ को २९ करोड ३० लाख रुपैयाँको तुलनामा झन्डै ५२ प्रतिशतले बढी हो।

पछिल्लो चार वर्षको तथ्यांकले होटलको व्यापारिक ग्राफ निरन्तर उकालो लागेको देखाउँछ। सन् २०२२ मा १८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले २०२३ मा २७ करोड ७० लाख रुपैयाँ आर्जन गरेको थियो। त्यसयता आम्दानीमा निरन्तर सुधार हुँदै आएको छ।

आम्दानीसँगै नाफाको मार्जिन पनि सन्तोषजनक रहेको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ५७ प्रतिशत रहेको छ। यो अघिल्लो वर्षको ५९ प्रतिशत र सन् २०२३ को ६१ प्रतिशतको तुलनामा सामान्य घटे पनि आम्दानीको ठूलो हिस्सा नाफाका रूपमा सुरक्षित राख्न कम्पनी सफल देखिएको छ। कोठा विस्तारसँगै सञ्चालन खर्चमा केही वृद्धि भए तापनि क्यासिनो र कोठा भाडाबाट हुने आयले नाफालाई सन्तुलित बनाएको छ।

कम्पनीको ऋण तिर्ने क्षमतामा पनि उल्लेख्य सुधार आएको छ। बैंकको ब्याज भुक्तानी गर्ने क्षमता सन् २०२५ मा २.५ गुणा पुगेको छ, जुन २०२४ मा १.६ गुणा र २०२३ मा १.४ गुणा मात्र थियो। ब्याजदरमा आएको गिरावट र व्यवसाय विस्तारले यस सूचकलाई बलियो बनाएको हो।

त्यस्तै, बैंकको साँवा र ब्याज दुवै भुक्तानी गर्न सक्ने क्षमता पनि सुदृढ भएको छ। सन् २०२३ र २०२४ मा १.३ गुणा रहेको यस्तो क्षमता सन् २०२५ मा बढेर १.८ गुणा पुगेको छ। यसले कम्पनीको नगद प्रवाह सुदृढ भएको र नियमित किस्ता तिर्न पर्याप्त स्रोत रहेको पुष्टि गर्छ।

कुल ऋण र सञ्चालन मुनाफाको अनुपात पनि उल्लेख्य रूपमा घटेको छ। सन् २०२२ मा ११.४ गुणा रहेको यो अनुपात सन् २०२५ मा घटेर ४.२ गुणामा झरेको छ, जसले कम्पनीको ऋण जोखिम क्रमशः कम हुँदै गएको संकेत गर्दछ।

होटलले हालै क्षमता विस्तार गर्दै कुल २०५ कोठा पुर्‍याएको छ। प्रति कोठा करिब १ करोड ५ लाख रुपैयाँ लागत रहेको यस परियोजनामा प्रति कोठा औसत ऋण भार ५९ लाख रुपैयाँ रहेको छ।

पछिल्लो तीन वर्षमा कम्पनीको औसत वार्षिक आम्दानी वृद्धिदर ३३ प्रतिशत रहेको छ। यस वर्ष ५२ प्रतिशतको उच्च वृद्धि हासिल गर्नुले कम्पनीको व्यवसायिक सम्भावना थप उजागर गरेको छ। क्रेडिट रेटिङ एजेन्सी ICRA Nepal ले भेगास सिटी इन्टरटेनमेन्ट प्रालिलाई ‘एल डबल बी’ रेटिङ प्रदान गरेको छ।

भारतीय सीमासँग नजिक हुनु र क्यासिनो सेवा उपलब्ध हुनु होटलको मुख्य आकर्षणका रूपमा देखिएको छ। सीमावर्ती भारतीय सहरहरूबाट आउने पर्यटकहरूको रोजाइमा पर्नु यस व्यवसाय वृद्धिको प्रमुख कारण मानिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार