उद्योग वाणिज्य संघको रणनीतिक पहल

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ ले आगामी दुई वर्षे कार्यकालका लागि नीति तथा कार्यक्रम तय गर्न योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ। धुलिखेलस्थित हिमालय दृश्य होटल मा सम्पन्न गोष्ठीमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष सुरकृष्ण वैद्य ले विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्रले निरन्तर प्रहार खेप्नुपरेको उल्लेख गरे। उनले देशमा उत्पन्न विविध घटनाक्रमले उद्योग–व्यवसायीहरूको मनोबल कमजोर बनाएको भन्दै जिल्ला उद्योग वाणिज्य संघहरूले व्यवसायीको मनोबल उकास्न र हित संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने ले सहभागीलाई स्वागत गर्दै संस्थागत विकास, सदस्य हित तथा संघका लक्ष्य परिपूर्तिका लागि आगामी दुई वर्षभित्र सञ्चालन हुने गतिविधिहरू पहिचान गर्न गोष्ठी आयोजना गरिएको जानकारी दिए। उनले गोष्ठीबाट प्रतिफलमुखी र परिणाममुखी योजना निर्माण हुने विश्वास व्यक्त गर्दै तय भएका कार्यक्रम प्रभावकारी कार्यान्वयन भएमा मात्र उद्देश्य सार्थक हुने बताए।

संघका सचिव तथा कार्यक्रम संयोजक गौतम सुजखू ले प्रत्येक नयाँ कार्यसमितिले आफ्नो कार्यकालका लागि रणनीतिक कार्ययोजना तर्जुमा गर्ने अभ्यास रहँदै आएको उल्लेख गरे। गत पुस २५ र २६ गते सम्पन्न संघको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कृष्णमुरारी न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आगामी दुई वर्षका लागि नीति तथा कार्यक्रम पहिचान गर्न यो गोष्ठी आयोजना गरिएको उनले बताए।

गोष्ठीमा व्यापक छलफल गरी पाँच प्रमुख विषयमा लक्ष्य निर्धारण गरिएको छ। कार्यसमितिको भूमिका सुदृढीकरण, सदस्य हितसम्बन्धी कार्यक्रम, आर्थिक व्यवस्थापन, आन्तरिक तथा बाह्य सम्बन्ध विस्तार र सरोकारवालासँग समन्वय तथा सहकार्यलाई केन्द्रमा राखी योजना निर्माण गरिएको संघले जनाएको छ।

कार्यक्रममा अजय प्रधानाङ्ग ले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। समापन कार्यक्रममा अध्यक्ष न्यौपानेले सहजकर्ता प्रधानाङ्गलाई मायाको चिनोस्वरूप ‘मयुर झ्याल’ प्रदान गरे। वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

संघले गोष्ठीबाट तय भएका नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत सदस्यहरूको हित संरक्षण र जिल्ला भित्रका उद्योग–व्यवसायीलाई थप प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार