नेपालगन्ज भन्सारमा राजस्व वृद्धि, लक्ष्य भेट्न अझै प्रयास आवश्यक

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा लक्ष्यको ४५.०१ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ। वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार तोकिएकामा माघ मसान्तसम्म रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार राजस्व असुली भएको भन्सार प्रमुख जनार्दन पौडेलले जानकारी दिए।

उनका अनुसार बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती रहेको छ। मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा शतप्रतिशत लक्ष्य भेट्न नसकिएको कार्यालयले जनाएको छ।

साउनदेखि माघसम्म क्रमशः ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७४.६४ प्रतिशत र आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन भएको थियो।

नेपाल–भारत सीमाको जमुनाहा नाकामा एकीकृत जाँचचौकी सञ्चालनपछि आयात–निर्यात वृद्धि भई राजस्व बढ्ने अपेक्षा गरिएको भए पनि पछिल्ला वर्षमा लक्ष्य पूरा हुन सकेको छैन। यद्यपि चालु आवको सात महिनामा गत आवको सोही अवधिको तुलनामा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व वृद्धि भएको पौडेलले बताए। गत आवको सात महिनामा रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो।

मासिक विवरण

  • साउन: लक्ष्य रु १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार, सङ्कलन ७४.१४% (रु १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार)

  • भदौ: लक्ष्य रु १ अर्ब ९३ करोड ६४ हजार ५४, सङ्कलन ६९.७७% (रु १ अर्ब ३५ करोड १० लाख ९ हजार)

  • असोज: लक्ष्य रु १ अर्ब ९८ करोड ३१ लाख ३० हजार, सङ्कलन रु १ अर्ब ७४ करोड १६ लाख ५ हजार

  • कात्तिक: लक्ष्य रु २ अर्ब १२ करोड ६१ लाख ३० हजार, सङ्कलन रु १ अर्ब ५३ करोड ७० लाख ८२ हजार

  • मङ्सिर: लक्ष्य रु १ अर्ब ९६ करोड ३६ लाख १४ हजार, सङ्कलन रु १ अर्ब ६३ करोड ८५ लाख १० हजार

  • पुस: लक्ष्य रु २ अर्ब ३ करोड ४५ लाख २१ हजार, सङ्कलन रु १ अर्ब ६९ करोड ४४ लाख १३ हजार

  • माघ: लक्ष्य रु १ अर्ब ९ करोड ६९ लाख ४० हजार, सङ्कलन रु १ अर्ब ७० करोड १ लाख ८२ हजार

कार्यालयका अनुसार राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ। आगामी महिनामा आयात–निर्यात गतिविधि बढेसँगै लक्ष्य नजिक पुग्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार