काठमाडौँ । गैरआवासीय नेपाली संघ (NRNA)का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले १२औँ महाधिवेशनमा महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन्। महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा आयोजना हुँदैछ।
हाल उपाध्यक्ष भए पनि सिम्खडाले संस्थाको पुनर्संरचना र सबैको साझा बनाउने भिजनसहित गत महाधिवेशनमा भएको सहमति अनुसार महासचिवमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। ११औँ महाधिवेशनमा टिम मिलाउने उद्देश्यले उनी उपाध्यक्ष भएका थिए भने अहिले महासचिव पदका प्रबल दावेदार बनेका छन्।
विगतमा भएका विवाद र टुटफुटका कारण उत्पन्न चुनौतीहरूको समाधान गर्दै एनआरएनएलाई पुनः प्रतिष्ठित अवस्थामा फर्काउने उद्देश्यसहित उनी ठोस कार्ययोजना र एजेन्डासहित चुनावी मैदानमा होमिन लागेको बताइएको छ। केही महिनाअघि दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारीमा पुगेको थियो।
सिम्खडा संस्थाको आन्तरिक, विधान तथा संस्थागत विषयमा गहिरो अनुभव राख्छन्। गत नोभेम्बरमा भएको बृहद एकताको लागि गठित कार्यदलमा उनले निर्णायक भूमिका खेलेका थिए।
आगामी मंगलबार, २४ जनवरी २०२६ मा भर्चुअल माध्यमबाट संकल्प–पत्रसहित आफ्नो उम्मेदवारी घोषणा गर्ने योजना रहेको छ। उनी प्रवासका संघ संगठनसँग राम्रो सम्बन्ध राख्ने र एनआरएनाभित्र स्पष्ट वक्ताका रूपमा चिनिने व्यक्तित्व हुन्।
हालसम्म एनआरएनएको अध्यक्षमा रोबिन शेरचन र हेमराज शर्माले उम्मेदवारी घोषणा गरिसकेका छन्। सिम्खडा अध्यक्ष होइन, महासचिव पदमा लड्ने भएपछि उनी पदभन्दा नतिजामा विश्वास राख्ने भएकाले यस क्षेत्रमा उम्मेदवारी घोषणा गरेका हुन्।
