काठमाडौँ । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा अब काठमाडौँ उपत्यकाबाहिर पनि विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरु गरिएको जानकारी दिएको छ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने र अन्य शहरमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताए। उनले छिट्टै काठमाडौँलाई अन्य प्रमुख शहरसँग जोड्ने ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी पनि दिए।
त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको उनले उल्लेख गरे।
दश वर्षदेखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले अहिलेसम्म १०१ वटा बसमार्फत उपत्यकामा सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीका बसहरू चक्रपथ क्षेत्रमा र थानकोटदेखि धुलिखेलसम्म नियमित रूपमा सञ्चालन भइरहेका छन्।
यस विस्तारसँगै, यात्रुलाई सस्तो, छिटो र वातावरणमैत्री विद्युतीय यातायात सेवा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।
