काठमाडौं । नियमित बजार अनुगमनलाई तीव्र बनाउँदै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई वटा फर्मलाई जरिवाना गरेको छ।
स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। त्यस्तै, कागेश्वरी नगरपालिका–६, मुलपानी बाबाचोकमा सञ्चालित जयस अन्न घरलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको हो।
यसैगरी, मेगा मार्ट प्रालिसहित अन्य तीन फर्मलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, अन्य सात वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गरिरहेको विभागले स्पष्ट पारेको छ। नियमित अनुगमनले बजार अनुशासन कायम गर्न र उपभोक्ताको अधिकार संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
