बीमा कम्पनीका एजीएम आज, लाभांश पारित हुँदै

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । नेपाली बीमा बजारका दुई स्थापित कम्पनी एशियन लाइफ इन्स्योरेन्सनेको इन्स्योरेन्सले आज फागुन ११ गते सोमबार आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्। गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेन्डासहित दुवै कम्पनीका शेयरधनीहरूका लागि आजको दिन विशेष बनेको छ।

एशियन लाइफको १८औँ साधारणसभा

एशियन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई स्वीकृति दिने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ। साथै, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि सभामा समावेश छ।

नेको इन्स्योरेन्सको ३०औँ साधारणसभा

निर्जीवन बीमा क्षेत्रको पुरानो कम्पनी नेको इन्स्योरेन्सको ३०औँ वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। कम्पनीले ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरेको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाबसहितका वित्तीय विवरण पारित गर्नेछ। साथै, नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि कार्यसूचीमा रहेको छ।

लाभांशका हकदार को?

साधारणसभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले यसअघि नै बुक क्लोज गरिसकेका छन्। एशियन लाइफको हकमा माघ २८ गतेसम्म र नेको इन्स्योरेन्सको हकमा माघ २४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बीमा क्षेत्रका यी दुई कम्पनीको साधारणसभाबाट लाभांश प्रस्ताव औपचारिक रूपमा पारित भएसँगै शेयरधनीहरूले प्रतिफल प्राप्त गर्ने मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार