काठमाडौँ । देशको सबैभन्दा ठूलो भन्सार नाका रहेको वीरगञ्जमा सोमबार विहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
कर्फ्यूको निर्णय, आइतबार रौतहटमा भएको हिन्दु–मुस्लिम द्वन्द्व वीरगञ्जमा फैलिएको परिस्थितिका कारण लिइएको हो। प्रशासनले कर्फ्यू अवधिभर आवतजावतमा कडाइ गरेको छ। केवल एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी र कर्मचारी, पर्यटक, मानवअधिकारवादी तथा कूटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटमा आधारित यात्राका लागि आवतजावत खुला रहने व्यवस्था गरिएको छ।
स्थानीय प्रशासनले बाँकी सबै व्यक्तिलाई कर्फ्यू अवधिभर आवतजावत नगर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक नगर्न कडा आदेश जारी गरेको छ। यस कदमले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै तनावपूर्ण परिस्थितिलाई नियन्त्रणमा राख्ने उद्देश्य राखेको छ।
