काठमाडौं । निभिक्स फर्मास्युटिकल्स ले पहिलो पटक World Health Organization (डब्लुएचओ) बाट ‘डब्लुएचओ–जिएमपी’ (WHO-GMP) प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनीले आफ्ना औषधि उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षा तथा प्रभावकारिताका मापदण्डअनुसार सञ्चालन भइरहेको औपचारिक मान्यता हासिल गरेको हो।
कम्पनीका अनुसार उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण, कागजी अभिलेख व्यवस्थापन, वातावरणीय नियन्त्रण तथा दक्ष जनशक्ति व्यवस्थापनका क्षेत्रमा आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि यो प्रमाणपत्र प्राप्त भएको हो। यस उपलब्धिले कम्पनीको उत्पादन प्रणालीलाई थप विश्वसनीय र प्रतिस्पर्धी बनाएको बताइएको छ।
हाल निभिक्सका ६८ भन्दा बढी औषधि उत्पादन बजारमा छन्। डब्लुएचओ–जिएमपी प्रमाणपत्र प्राप्तिपछि ती उत्पादनहरूले सरकारी खरिद प्रक्रियामा सहभागिता अझ सुदृढ गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसर विस्तार गर्ने आधार तयार भएको कम्पनीले जनाएको छ। साथै, कम्पनीले १०० भन्दा बढी औषधि उत्पादनका लागि नियामक निकायबाट स्वीकृति समेत प्राप्त गरिसकेको छ।
सर्वसाधारणसम्म पहुँच विस्तार गर्ने लक्ष्यसहित कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन अनुमति मागिसकेको जानकारी दिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बाँनियाले “नवप्रवर्तन, गुणस्तर र दक्षता” प्रति प्रतिबद्धताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको उल्लेख गर्दै सुरक्षित, प्रभावकारी र सर्वसुलभ औषधि उत्पादनमार्फत राष्ट्रिय औषधि उत्पादन क्षमतालाई सुदृढ गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको बताए।
डब्लुएचओद्वारा निर्धारण गरिएको WHO-GMP मापदण्डले औषधि उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा र प्रभावकारितासँग मेल खाने सुनिश्चितता प्रदान गर्छ। निभिक्सले प्राप्त गरेको यो मान्यता कम्पनीका साथै समग्र नेपाली औषधि उद्योगका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।
