निर्वाचन पारदर्शितामा बैंक खाता अनिवार्य

  • Clock icon
    २०८२ फाल्गुन १२, मंगलवार

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १ हजार २१३ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोग नेपाल ले जनाएको छ।

निर्वाचनमा भाग लिएका ६८ राजनीतिक दलमध्ये हालसम्म नौ दलले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका छन्। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न, कानुनले तोकेको खर्च सीमा पालना गराउन तथा प्रभावकारी निगरानीका लागि बैंक खाता अनिवार्य गरिएको हो।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक तथा ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारसँग सम्बन्धित सम्पूर्ण आम्दानी–खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ।

उक्त कार्यविधिअनुसार निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र नियमनयोग्य बनाउन बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्नुपर्ने प्रावधान लागू गरिएको आयोगले जनाएको छ। आयोगले तोकिएको समयभित्र सबै उम्मेदवार र दललाई अनिवार्य रूपमा बैंक खाता सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १२, मंगलवार