चितवनमा साङ्ग्रिलाको आधुनिक डिस्टिलरी सञ्चालन

  • Clock icon
    २०८२ फाल्गुन १२, मंगलवार

चितवन । नेपालको औद्योगिक क्षेत्रमा नयाँ र आधुनिक आयाम थप्दै साङ्ग्रिला डिस्टिलरी लिमिटेड ले व्यावसायिक उत्पादन सुरु गरेको छ। चितवनको ब्रह्मनगरस्थित सिमलटाँडीमा स्थापना भएको यो उद्योग उत्पादन क्षमता र अत्याधुनिक प्रविधिका हिसाबले देशकै उन्नत डिस्टिलरीहरूमध्ये एकका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

करिब ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको पूर्वाधारसहित सञ्चालनमा आएको उद्योगले पूर्ण रूपमा स्वचालित मेसिनरी, आधुनिक वाइन भण्डारण प्रणाली तथा अत्याधुनिक ब्लेन्डिङ ट्याङ्कहरूको प्रयोग गरिरहेको छ। कम्पनीका अनुसार २५ यू.पी. देखि ७० यू.पी. सम्मका विभिन्न रेन्जका मदिरा उत्पादन भइरहेको छ।

उद्योगका मुख्य उत्पादनहरूमा तेजस गोल्ड ह्विस्की, तेजस ब्ल्याक ह्विस्की, रीफ भोड्का र V8 प्रिमियम भोड्का रहेका छन्। कम्पनीले उत्पादन प्रक्रियामा आयातित ‘स्कटिस माल्ट’ र उन्नत फिल्ट्रेसन प्रणाली प्रयोग गरिएको जनाएको छ, जसबाट उपभोक्ताले अन्तर्राष्ट्रिय स्तरको स्वाद स्वदेशमै अनुभव गर्न सक्ने दाबी गरिएको छ।

रोजगारी र राजस्वमा टेवा

साङ्ग्रिला डिस्टिलरीले सुरुवाती चरणमै २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ। साथै कृषि, खाद्य, ढुवानी र वितरण क्षेत्रमा समेत सयौँलाई अप्रत्यक्ष रोजगारी सिर्जना भएको बताइएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमार्फत सरकारी राजस्वमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय अनुभवसहितको नेतृत्व

उद्योगको नेतृत्व प्रबन्ध निर्देशक प्रजन्नराज अधिकारी ले गरिरहेका छन्। अस्ट्रेलियाका विभिन्न डिस्टिलरीमा काम गरेको अनुभव बोकेका अधिकारीले त्यहाँ आर्जित प्राविधिक ज्ञान र ब्लेन्डिङ सीपलाई नेपालमा प्रयोग गरिएको बताए। उनको नेतृत्वमा कम्पनीले गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै दीर्घकालीन ब्रान्ड निर्माण गर्ने लक्ष्य लिएको छ।

निर्याततर्फ अग्रसर

नेपाली बजारमा मजबुत उपस्थिति बनाउँदै कम्पनीले अब अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तयारी थालेको छ। पहिलो चरणमा अस्ट्रेलियाको वितरण सञ्जालमार्फत उत्पादन निर्यात गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यसबाट उच्च गुणस्तरको नेपाली मदिरालाई विश्व बजारमा चिनाउने र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

चितवनबाट सुरु भएको यस उद्योगले रोजगारी, निर्यात सम्भावना र औद्योगिक विस्तारका नयाँ अवसर सिर्जना गरेको बताइएको छ। सुरक्षा, गुणस्तर र नियामकीय मापदण्डको पूर्ण पालना गर्दै साङ्ग्रिला डिस्टिलरीले नेपालको मदिरा उद्योगलाई आधुनिक प्रविधिसँग जोड्ने पहल थालेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १२, मंगलवार