काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्न सफल भएको जनाएको छ। ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
४०औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै नवीनतम बैंकिङ सेवा निरन्तर विस्तार गर्ने जनाएको छ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि प्रकाशन गर्दै आएको वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक श्रृंखलालाई निरन्तरता दिएको छ। यस वर्ष ‘३ आर सुन्दर संसार’ नामक आठौँ संस्करण सार्वजनिक गरिएको छ। उक्त चित्रकथा पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण तथा ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल, रमाइलो र ज्ञानवर्द्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ।
वातावरणमा भइरहेको तीव्र परिवर्तनले स्वास्थ्य, भविष्य र पृथ्वीलाई चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकामा वातावरण संरक्षणप्रति सचेतना फैलाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बैंकले स्पष्ट पारेको छ।
यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।
हाल बैंकले देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
