काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले मधेश प्रदेशमा सञ्चालित आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय, साथै रौतहट जिल्लाको चन्द्रपुर स्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीलाई लक्षित गरी सामग्री वितरण गरेको हो।
उक्त विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले बैंकले व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबल, विद्यालय पोसाक, स्कुल ब्याग तथा अन्य शैक्षिक एवं खेलकुद सामग्री प्रदान गरेको जनाएको छ।
यस पहलबाट विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बन्ने र विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ। कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गका ८०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्।
बैंकले समुदाय स्तरमा यस्ता सामाजिक गतिविधि समय–समयमा सञ्चालन गर्दै आइरहेको जनाएको छ। विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ इकाई, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
