राष्ट्र बैंकको सम्पत्ति ३३ खर्ब नाघ्यो

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको ‘स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन’ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व ३३ खर्ब १७ अर्ब ४९ करोड ५७ लाख २५ हजार ९६६ रुपैयाँ पुगेको छ।

गत असार मसान्तमा बैंकको कुल सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार ८०३ रुपैयाँ रहेकोमा सात महिनाको अवधिमा करिब ६ खर्ब ४६ अर्ब रुपैयाँले वृद्धि भएको देखिएको छ।

विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य सुधार

माघ २९ गतेसम्म बैंकसँग ३२ खर्ब ७ अर्ब ६३ करोड १५ लाख १६ हजार १७४ रुपैयाँ बराबरको विदेशी मुद्रा सम्पत्ति रहेको छ। असार मसान्तमा यस्तो सम्पत्ति २५ खर्ब ६७ अर्ब ३२ करोड १४ लाख ९८ हजार ६०९ रुपैयाँ मात्र थियो।

विदेशी सुरक्षणमा गरिएको लगानी सबैभन्दा ठूलो अंश रहेको छ, जुन २१ खर्ब ४७ अर्ब ३६ करोड ७० लाख २३ हजार ०१० रुपैयाँ पुगेको छ। विदेशी बैंकहरूमा रहेको मुद्दती निक्षेप ६ खर्ब ४६ अर्ब ८३ करोड ७८ लाख ४४ हजार ०९९ रुपैयाँ र सुनको प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब ४५ अर्ब ७२ करोड ३६ लाख ७४ हजार ५११ रुपैयाँ रहेको छ। असारको तुलनामा सुनको प्रमाणपत्रमा लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको देखिएको छ।

दायित्वतर्फ पनि विस्तार

बजारमा चलनचल्तीमा रहेको नोट ७ खर्ब ७६ अर्ब ३१ करोड ४१ लाख १० हजार ०३७ रुपैयाँ पुगेको छ, जुन असार मसान्तको तुलनामा झण्डै २६ अर्ब रुपैयाँले बढी हो।

सरकारी निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। असार मसान्तमा ७० अर्ब ८३ करोड ७० लाख ९९ हजार १७४ रुपैयाँ रहेको नेपाल सरकारको निक्षेप माघ मसान्तसम्म आइपुग्दा ३ खर्ब २८ अर्ब ९३ करोड २३ लाख ४७ हजार ४५५ रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३ खर्ब २२ अर्ब १७ करोड ७४ लाख ६ हजार ४४२ रुपैयाँ रहेको छ, जुन असारको तुलनामा केही घटेको हो।

जगेडा कोष सुदृढ

बैंकको जगेडा कोष असार मसान्तको ६ खर्ब ७१ अर्ब २ करोड ६३ लाख २३ हजार २८५ रुपैयाँबाट बढेर माघ मसान्तमा ९ खर्ब ९ अर्ब २९ करोड १२ लाख ३ हजार २१९ रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमै यथावत रहेको छ।

स्थानीय मुद्रातर्फको सम्पत्ति १ खर्ब ९ अर्ब ८६ करोड ४२ लाख ९ हजार ७९२ रुपैयाँ रहेको छ। यसमध्ये सुन तथा चाँदी सम्पत्ति ५५ अर्ब ४१ करोड ६२ लाख ९७ हजार २७१ रुपैयाँ र सरकारी सुरक्षणमा लगानी १५ अर्ब २८ करोड ४६ लाख ३४ हजार ०८४ रुपैयाँ समावेश छन्।

यो विवरण सहायक निर्देशक रञ्जन ताछामो, उप–निर्देशक कृष्ण शरण फुयाँल, कामु निर्देशक प्रियंका बस्न्यात र कार्यकारी निर्देशक राजेन्द्र भट्टराईले प्रमाणीकरण गरेका छन्। अपरिष्कृत तथ्यांक भए तापनि यसले मुलुकको बाह्य क्षेत्र सन्तुलन र केन्द्रीय बैंकको मजबुत वित्तीय अवस्थालाई स्पष्ट संकेत गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार