कृषि कर्जामा पहुँच बढाउन नयाँ सुरक्षण पहल

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला ललितपुरस्थित Hotel Squareमा सम्पन्न भएको छ।

बिहीबार आयोजित कार्यशालामा कोष, यूएनडीपी तथा ‘क’ वर्गका वाणिज्य बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कोष, यूएनडीपी र छानिएका नौ वटा स्थानीय तहहरूको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र सर्वसाधारणको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित एकल कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा लागू गर्ने तयारी भइरहेको छ। यही सन्दर्भमा कर्जा प्रदायक वाणिज्य बैंकहरूको पृष्ठपोषण र सुझाव संकलनका लागि कार्यशाला आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंकएनएमबी बैंकका उच्च व्यवस्थापकहरूले स्किमको मस्यौदामाथि सुझाव प्रस्तुत गरेका थिए।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्राप्त सुझावहरूमाथि थप छलफल गरी ग्रहणयोग्य बुँदाहरू समेट्दै स्किमलाई अन्तिम रूप दिइने जानकारी दिए। उनले कृषि क्षेत्रमा कर्जाको पहुँच विस्तार गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार