बेलायतमा वर्क भिसा १९ प्रतिशतले घट्यो, स्वास्थ्य र दक्ष कामदार प्रभावित

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ को डिसेम्बरसम्म जारी वर्क भिसा संख्यामा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले गिरावट आएको छ।

सन् २०२५ मा कुल १ लाख ६८ हजार कार्य भिसा जारी गरिएको छ, जुन सन् २०२४को तुलनामा १९ प्रतिशत र सन् २०२३को तुलनामा ५० प्रतिशत कम हो। विशेष गरी ‘हेल्थ एण्ड केयर’ क्षेत्रमा दिइने भिसा ५० प्रतिशतले घटेको छ भने अन्य दक्ष कामदारका भिसामा ३६ प्रतिशतले कमी आएको छ।

नयाँ नियम अनुसार विद्यार्थीहरूका परिवारका सदस्य लैजान पाउने व्यवस्था कडा बनाउँदा अध्ययन भिसामा पनि गिरावट आएको छ।

अवैध मार्गबाट बेलायत प्रवेश गर्नेहरूको संख्या भने ७ प्रतिशतले वृद्धि भई ४६ हजार ४९७ पुगेको छ, जसमा ८९ प्रतिशत साना समुद्री मार्गमार्फत आएका छन्।

सन् २०२५ मा कुल १ लाख ६२५ जनाले शरणका लागि आवेदन दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले कम हो। यस अवधिमा कानूनी अधिकार नभएका ९ हजार ९०० व्यक्तिलाई जबरजस्ती फिर्ता पठाइएको छ, जुन २१ प्रतिशतले बढी हो।

प्रधानमन्त्री कियर स्टार्मर नेतृत्वको लेबर सरकारले आप्रवासन नियन्त्रणमा कडाइ गर्दै स्वास्थ्य र श्रम बजारमा कामदारको अभाव हुन सक्ने जोखिममा विज्ञहरूले चेतावनी दिएका छन्।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार