काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालबाट ८ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। यस अवधिमा कुल ४ हजार १५३ मेट्रिक टन अलैंची विदेश पठाइएको विभागले जनाएको छ।
गत आवको सोही अवधिसँग तुलना गर्दा निर्यात र मूल्य दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। सन् २०८१/८२ मा पहिलो सात महिनामा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची मात्रै निर्यात भएको थियो।
नेपालले दुबई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विट्जरल्याण्ड र अमेरिका लगायत विभिन्न मुलुकमा अलैंची निर्यात गर्दै आएको छ।
नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोक लगायत ३९ जिल्लामा अलैंची खेती भइरहेको छ। खोल्साको सुन भनेर चिनिने अलैंची नेपालको निर्यातजन्य बहुमूल्य मसला बाली हो, जसले कृषक र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
