पोखरा । लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुङ्गानालाई निलम्बन गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता अनियमितता प्रकरणमा विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
ढुङ्गाना गत पुस १७ गतेदेखि लमजुङको जिल्ला प्रशासन कार्यालयमा सीडीओका रूपमा कार्यरत थिए। आयोगका अनुसार उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएका हुन्।
अधिकारिताले खुलासा गरे अनुसार, यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधनलाई आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानको क्रममा राष्ट्रसेवक र गैर-राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीसाधनलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) अनुसार ढुङ्गानामाथि कैद र जरिवानाको माग गरेको छ।
