हङकङको बजेट २०२६–२७ : विज्ञान, प्रविधि र नवप्रवर्तनले अर्थतन्त्रलाई गति दिने

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

एजेन्सी । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले २०२६–२७ को बजेट प्रस्तुत गर्दै आर्थिक विस्तारलाई निरन्तरता दिन र विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई नयाँ वृद्धिको इन्जिन बनाउने प्रतिवद्धता जनाएको छ।

हङकङका वित्तीय सचिव पॉल चानका अनुसार सन् २०२५–२६ मा कर राजश्व वृद्धिसँगै अर्थतन्त्र र पूँजी बजारको उछालले सञ्चालन खातामा फेरि सरप्लस आएको छ। बलियो वित्तीय एकीकरण कार्यक्रमले सरकारी कोषलाई पुनः सुदृढ बनाएको उनको भनाइ छ।

चानले चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) को शुरुवातको सन्दर्भमा हङकङले राष्ट्रिय विकाससँग एकीकृत भएर नयाँ गुणस्तरीय उत्पादक शक्ति विकास गर्ने र उद्यमहरूलाई नयाँ बजार खोज्न सहयोग गर्ने बताए।

बजेटअनुसार, २०२६ मा हङकङको आर्थिक वृद्धि २.५–३.५ प्रतिशतको बीचमा रहने अनुमान छ। अन्तर्निहित मुद्रास्फीति दर १.७ प्रतिशत, समग्र मुद्रास्फीति दर १.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। २०२७ देखि २०३० सम्म वार्षिक औसत ३ प्रतिशत वास्तविक आर्थिक वृद्धि र औसत २ प्रतिशत अन्तर्निहित मुद्रास्फीति रहने अपेक्षा गरिएको छ।

बजेटले २०२६–२७ देखि २०३०–३१ सम्म सञ्चालन खातामा सरप्लस रहने बताएको छ भने उच्च पुँजीगत कार्य खर्चका कारण पुँजी खाता वार्षिक घाटामा रहनेछ। पूर्वाधार परियोजनाका लागि बन्ड जारी गर्ने कार्य बढाइने छ, जसलाई हङकङको भविष्यमा लगानी मानिएको छ। यस अवधिमा वित्तीय सञ्चिति क्रमशः ७०० अर्ब हङकङ डलरभन्दा माथि पुग्ने अपेक्षा छ।

बजेटले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै हङकङको दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार