निर्वाचन आयोग के गर्छ ? एमाले उम्मेदवारविरुद्ध उजुर हाल्ने तयारी

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दलबहादुर फडेराको उम्मेदवारीविरुद्ध निर्वाचन आयोग जाने तयारी भएको छ । उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिन लागिएको बुझिएको छ । हुम्ला क्षेत्रबाट उठेरा फडेराविरुद्ध मानव तस्करीको आरोप छ ।

क्रिश्चियन बनाउन उनले बालबालिकालाई नेपालबाट भारत तस्करी गर्ने गरेको अध्ययन प्रतिवेदनहरुमा पनि उल्लेख छ । उनीविरुद्ध पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । तर,प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडितहरु अदालत गए । अदालतले जाहेरी दर्ता गर्न भन्दै २०७४ माघ १४ गते परमादेश जारी गरेको थियो ।

तर, अहिलेसम्म जाहेरी दर्ता भएर अनुसन्धान शुरु भएको छैन । मानव तस्करीको गम्भीर आरोप लागेका उनी २०७४ को निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष भए । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका मोहनविक्रम सिंहबाट पराजित भए । प्रदेश सभा निर्वाचनमा पनि फडेरा एमालेबाट उम्मेदवार थिए तर जितेनन् ।

हाल उनी प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् । तर, मानव तस्करीको गम्भीर आरोप लागेका उनको उम्मेदवारी खारेज हुने देखिएको छ । स्रोतले भन्यो,‘उनको उम्मेदवारीविरुद्ध आज उजुरी दिने तयारी छ । फौजदारी कसुर रहेकाले उम्मेदवारी खारेज हुने सम्भावना अधिक छ ।’ यता, यसविषयमा बुझ्नका लागि फडेरालाई फोन गर्दा सम्पर्क हुन सकेन ।

 

 

जन आस्थाबाट साभार