काठमाडौँ । ग्लोबल आइएमई बैंकले दिगो विकासप्रतिको प्रतिबद्धता थप सुदृढ गर्दै ‘बिल्डिङ इनर्जी एफिसियन्सी इन नेपाल’ (बीन) परियोजनासँगको रणनीतिक सहकार्यलाई सफलतापूर्वक सम्पन्न गरेको छ। युरोपेली संघको स्विच एसिया कार्यक्रमअन्तर्गत वित्तीय सहयोग प्राप्त उक्त परियोजना सन् २०२६ फेब्रुअरी ११ मा उच्चस्तरीय समापन कार्यशालासँगै औपचारिक रूपमा टुंगिएको हो।
समापन कार्यशालामा आयोजित “नेपालको भवन क्षेत्रमा ऊर्जा दक्षता मुख्यधारमा ल्याउने मार्गहरू” विषयक विशेष छलफल सत्रमा बैंकका साना तथा खुद्रा बैंकिङ प्रमुख नरहरि सिलवालले हरित वित्त र दिगो निर्माणको भावी दिशाबारे महत्वपूर्ण धारणा राखे।
उनले नेपालमा ऊर्जा दक्ष प्रविधिको सम्भावना व्यापक रहे पनि यसको अवलम्बनमा विभिन्न चुनौती रहेको उल्लेख गरे। सर्वसाधारणमा हरित आवास र दिगो प्रविधिप्रति सचेतना तथा स्वीकार्यता अझै न्यून रहेको उनले बताए। दीर्घकालीन लाभबारे उपभोक्तालाई बुझाउन बजार शिक्षाको आवश्यकता औंल्याउँदै उनले वित्तीय संस्था, सरकारी निकाय, निर्माण व्यवसायी र अन्य साझेदारबीच सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए।
नरहरि सिलवालले स्पष्ट प्रमाणीकरण संयन्त्र र सहयोगी नीतिगत पहलमार्फत हरित भवन बजारलाई संरचित रूपमा अघि बढाउन सकिने बताए। यसले देशभर ऊर्जा दक्ष आवासको विस्तारलाई तीव्रता दिने विश्वास व्यक्त गरिएको छ।
बैंकले हरित वित्त प्रवर्द्धनका लागि विशेष वित्तीय उत्पादनहरू सञ्चालन गर्दै आएको छ। बैंकको ‘हरित आवास कर्जा’ योजना ऊर्जा दक्ष घर निर्माण वा खरिद गर्न चाहने नागरिकका लागि लक्षित छ। यस योजनामार्फत वातावरणमैत्री आवासमा लगानी गर्न सहज वित्तीय पहुँच प्रदान गरिएको बैंकले जनाएको छ।
बीन परियोजनामा सहकार्य गर्दै ग्लोबल आईएमई बैंकले व्यक्तिगत आवास वित्तपोषणमा मात्र नभई समग्र रूपमा वातावरणमैत्री र उत्थानशील नेपालको लक्ष्य प्राप्तिमा योगदान पुर्याउँदै आएको जनाएको छ।
