काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधन सञ्चालनका लागि कुनै प्रकारको पास आवश्यक नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगले सवारीसाधन व्यवस्थापन प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवा मैत्री बनाउन सवारी पास सम्बन्धी कार्यविधि, २०८२ अनुरूप यस्तो व्यवस्था मिलाएको हो।
आयोगका अनुसार केवल सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधन पासबिना सञ्चालन गर्न सकिनेछ। विशेष गरी दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनले पास आवश्यक नपर्ने आयोगले जनाएको छ।
त्यस्तै, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मत, अस्पताल सेवाका सवारीसाधन (चिकितकर्मीको घर–अस्पताल आवतजावत), अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवा यात्री बोकेको सवारीसाधन, गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र उनीहरूको एक जना सहयोगी बोकेको सवारीसाधनले पनि निर्वाध सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
अर्कोतर्फ, नम्बर प्लेटमा ‘सिडी’ भएका कूटनीतिक सवारीसाधन, आयोगद्वारा जारी पर्यवेक्षक परिचयपत्रधारीको सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारीसाधन र प्रेस पासधारी सञ्चारकर्मीका सवारीसाधन समेत सहज रूपमा सञ्चालन हुने आयोगले जनाएको छ।
निर्वाचन दिनका लागि आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि सहभागी भएर स्थापना गरिएको एकीकृत सवारी आवागमन डेस्क मार्फत पनि सम्बन्धित सवारी पास जारी हुने व्यवस्था गरिएको छ। यसले निर्वाचनसम्बन्धी आवागमनलाई व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।
