इरानविरुद्ध आक्रमण जारी, अमेरिकीको पनि ज्यान जान्छ:ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।

गए राति भिडिओ सन्देश जारी गर्दै उनले इरानमा सैन्य कारबाही जारी रहेको जानकारी गराएका हुन्।

भिडिओमा उनले भनेका छन्, ‘हाम्रो सैन्य कारबाही पूर्ण शक्तिका साथ जारी छ। दुर्भाग्यवश ! धेरै अमेरिकीको ज्यान जाने सम्भावना छ। के गर्ने, युद्धमा यस्तै हुन्छ।’

ट्रम्पले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन्।

उनले अगाडि भनेका छन्, ‘म फेरि एकपटक रिभोलुसनरी गार्ड्स र इरानका सैन्य प्रहरीलाई आफ्नो आक्रमण बन्द गर्न र सुरक्षित रहन आग्रह गर्दछु। अन्यथा आउँदै गरेको मृत्युका लागि तयार रहनू।’

ट्रम्पले इरानमा शासन परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि इरानी जनतालाई अपिल गरे।

उनले भनेका छन्, ‘म स्वतन्त्रता चाहने सबै इरानी देशभक्तहरूलाई यस अवसरमा उठ्न, साहसी हुन, वीर बन्न र आफ्नो देश फिर्ता लिन आग्रह गर्दछु। अमेरिका तपाईंको साथमा छ।’

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।

जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको रोयटर्सले जनाएको छ ।