राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र (बालेन) साहले व्यापारीबाट कोशेली लिएको गाडी बेपत्ता पारिएको छ ।
राजश्व छलेर भित्र्याइएको विषयमा सुरक्षा अनुसन्धान शुरु भएपछि झण्डै आठ करोड रूपैयाँ पर्ने गाडी लुकाइएको तथ्य सार्वजनिक भएको छ ।
उक्त गाडी ल्याउन प्रहरीमार्फत भैरहवा, वीरगञ्ज र विराटनगरमा पत्र पठाइएको तर सम्बन्धित सबै पात्र मोबाइल बन्द गरेर भागाभाग भएको स्रोत बताउँछ ।
केही समययता बालेनले पनि सो गाडी चढेका छैनन् । चुनावी अभियानका क्रममा महँगो गाडी चढेको विषयले देशभर नै चर्चा पाएको थियो । आफूलाई सुशासन र भ्रष्टाचारविरोधी भनेर चिनाउने उनले चढेको गाडीको मालिक खोज्दै जाँदा चाउचाउ तथा गुट्खा व्यापारी कमलकिशोर मालपानी भएको खुलेको हो ।
बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्डरोभर गाडी मालपानीले केही महिनाअघि हङकङमा नक्कली कागज तयार पारेर सुनचाँदी तस्कर दीपक अडुकियामार्फत असोज २३ गते वीरगञ्ज भन्सारबाट छुटाएका थिए । त्योसँगै उनले सोही मोडलको अर्को एउटा गाडी पनि भित्रायाएका हुन् ।
बालेनले बिचौलिया दीपक भट्टमार्फत त्यही गाडी मागेपछि मालपानीले दिएका हुन् । आफैंले डिफेण्डर हाँकेर मतदाताको घरदैलोमा पुगेका बालेनले त्यसबारे प्रश्न गर्दा पत्रकारलाई समेत हप्काए ।
भन्सार छलीको विषय बाहिरिएपछि भने बालेनले चटक्कै सो गाडी चढ्न छाडेका छन् । उनी अरु नै गाडी चढेर देश दौडाहामा निस्किएका छन् । त्यो गाडी एकाएक कहाँ लुकाइयो ? छानबिनको विषय बनेको छ । मालपानीले भिœयाएको एउटा गाडीमा ७३ लाख र अर्कोमा ७६ लाख रूपैयाँ राजश्व छली भएको पुष्टि भइसक्यो ।
भन्सार विभाग र अख्तियारले गाडीबारे अनुसन्धान गरिरहेका छन् । पटकपटक गाडी ल्याउनभन्दा पनि मालपानीहरूले अटेर गरिरहेको भन्सार स्रोत बताउँछ ।
स्रोतका अनुसार हाल मालपानी र उनका कर्मचारीहरू सम्पर्कविहीन छन् । ‘हामीले पटकपटक गाडी ल्याउन भनिसकेका छौं । तर, उनीहरूले मानिरहेका छैनन् । प्रहरी पनि पठायौं । अहिले त सम्पर्कविहीन छन् । यिनीहरूले गाडी लुकाइसके भन्ने आशंका छ’, स्रोतले भन्यो । गाडी नल्याएमा चुनावपछि कारबाही गरिने स्रोतको भनाइ छ । बालेनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा मालपानीमाथि ठूलै गुण लगाएका थिए । उनले मालपानीलाई कमाउने अवसर बनाइदिए ।
दरबारमार्गलगायत अन्य स्थानमा हालिएको ग्रेनाइट, फुटपाथको ब्लक मालपानीकै उत्पादन हो । उता, बालेनले २ वर्षअगाडि आफैँले लगाएको महानगरबाट जातेजाते सुर्तीजन्य पदार्थमाथिको प्रतिबन्ध हटाउन खोजेका थिए । तर, कर्मचारीहरूले नमानेपछि पछि हट्नुपर्यो ।
ग्रेनाइट बिच्छ्याउने काम सदाशिव इन्फ्रा प्रालिले गरेको हो । परियोजनाको कूल लागत पाँच करोड १४ लाख ७८ हजार ५७ रुपैयाँ ४२ पैसा रहेको र ग्रेनाइट सबै भारतको राजस्थानबाट ल्याइएको महानगरका निर्देशक सुरेशकुमार राईले बताए ।
अडुकियामाथि पनि छानबिन शुरु
हङकङमा नक्कली कम्पनी खडा गरेर आधा दर्जन गाडी भित्र्याउने व्यवसायी दिपक अडुकियामाथि पनि छानबिन शुरु भएको छ ।
सुनकाण्डमा मुछिएका विवादित पृष्ठभूमिका अडुकियालगायतलाई बयानमा बोलाउने तयारी भइरहेको छ ।
यसबारे भन्सार विभागले परराष्ट्र मन्त्रालयमार्फत कम्पनीको कागजात माग गरेको छ । ‘अडुकियामाथि पनि छानबिन शुरु गरेका छौं । अब बयान हुन्छ’, स्रोतले भन्यो ।
जन आस्थाबाट सभार