काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा पुनः ठूलो वृद्धि भएको छ। आइतबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि समान दरले अर्थात् ५ हजार ६ सय रुपैयाँले नै उकालो लागेको हो। यससँगै दुई दिनको अवधिमा मात्रै सुनको मूल्यमा कुल ११ हजार २ सय रुपैयाँको वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो वृद्धिसँगै सुनको मूल्य फेरि ऐतिहासिक उच्च विन्दुको नजिक पुगेको छ।
व्यवसायीहरूका अनुसार मध्यपूर्वमा बढ्दो सैन्य तथा राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग उल्लेख्य रूपमा बढेको छ। लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्न थालेपछि विश्व बजारमा देखिएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ। निरन्तरको तीव्र मूल्यवृद्धिले बजारमा सुनको कारोबार केही सुस्त हुन सक्ने आकलन गरिएको छ।
यसैबीच, नेपालको हेलिकोप्टर चार्टर सेवामा स्थापित नाम बेसक्याम्प हेलिकोप्टर प्राइभेट लिमिटेड (साविक मनाङ एयर) ले विगतका दुर्घटना र आर्थिक मन्दीको चुनौती पार गर्दै सन् २०२५ मा उत्साहजनक व्यावसायिक पुनरुत्थान देखाएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ। सन् २०२५ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ, जुन सन् २०२४ को ३ करोड ६० लाख रुपैयाँको तुलनामा १० गुणाभन्दा बढी हो।
सन् २०२३ को जुनमा लमजुरामा र अक्टोबरमा लोबुचेमा गरी तीन महिनाको अन्तरमा दुई हेलिकोप्टर दुर्घटना हुँदा सन् २०२४ मा कम्पनीको सञ्चालन करिब ठप्प भएको थियो। यसअघि सन् २०१९ मा लुक्ला विमानस्थलमा अर्को जहाजसँग ठोक्किँदा पनि एक हेलिकोप्टर क्षति भएको थियो। ती घटनापछि कम्पनीले पुनः संरचना गर्दै सन् २०२४ र २०२५ मा दुई नयाँ हेलिकोप्टर थपेको छ।
हाल कम्पनीले दुई वटा एएस ३५० बी३ हेलिकोप्टरमार्फत सगरमाथा र अन्नपूर्ण क्षेत्रमा सेवा प्रदान गरिरहेको छ। व्यवसाय पुनः गति लिँदै जाँदा सन् २०२५ मा सञ्चालन नाफा मार्जिन २५.५९ प्रतिशत पुगेको छ, जुन अघिल्ला दुई वर्षमा ऋणात्मक थियो।
सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको कुल ऋण र पूँजी अनुपात २.१९ गुणा रहेको छ। नयाँ हेलिकोप्टर खरिदका लागि लिएको थप ऋणका कारण ऋण तिर्ने क्षमता ५.३७ गुणाबाट घटेर २.७३ गुणामा झरेको छ। यद्यपि आम्दानीमा सुधारसँगै ब्याज तिर्ने क्षमता भने २.२२ गुणा पुगेको छ। कम्पनीसँग करिब ५३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण र १४ करोड ७५ लाख रुपैयाँ बराबरको अन्य ऋण सुविधा रहेको छ।
सन् १९९६ देखि सञ्चालनमा रहेको कम्पनी हाल सतिश प्रसाद प्रधानको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत रोम हर्ष श्रेष्ठको नेतृत्वमा अगाडि बढिरहेको छ। रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन ऋणका लागि ‘डबल बी माइनस’ र अल्पकालीन ऋणका लागि ‘एफोर’ रेटिङलाई निरन्तरता दिँदै ‘नकारात्मक निगरानी’ बाट हटाएको जनाएको छ।
