होली र निर्वाचनमा पनि बैङ्किङ सेवा निरन्तर

  • Clock icon
    २०८२ फाल्गुन १८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा सुचारु राख्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैङ्कले एक परिपत्र जारी गर्दै होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते बिहीबार सम्बन्धित कार्यालयहरू सञ्चालनमा राख्न व्यवस्था मिलाउन आग्रह गरेको हो।

निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैङ्कहरूले भुक्तानी व्यवस्था तथा राजस्व दाखिला प्रक्रिया नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ। सार्वजनिक बिदाका कारण राजस्व संकलन तथा सरकारी भुक्तानीमा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

यसैगरी निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाले राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनमार्फत हुने रकम दाखिला र भुक्तानीलगायतका सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। निर्वाचन अवधिमा आर्थिक कारोबार पारदर्शी र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ।

राष्ट्र बैङ्कको यस निर्देशनसँगै होली पर्व र निर्वाचनका दिन पनि आवश्यक बैङ्किङ सेवा अविरल रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १८, सोमबार