खाडी तनावबीच नेपालको सजगता

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनाव र शक्ति राष्ट्रहरूबीचको टकरावले खाडी क्षेत्र अस्थिर बनेको छ। इरान, इजरायलअमेरिका बीचको त्रिपक्षीय द्वन्द्व अब सीमित दायराबाट बाहिरिँदै समग्र खाडी क्षेत्रमै फैलिएको छ। यसको प्रभाव ती देशहरूसँग व्यापारिक सम्बन्ध रहेका नेपालजस्ता मुलुकमा समेत देखिन थालेको छ।

हालै अमेरिका र इजरायलले इरानभित्र लक्षित गरी गरेका श्रृंखलाबद्ध आक्रमण र त्यहाँका प्रभावशाली सैन्य तथा राजनीतिक व्यक्तित्वको मृत्युले परिस्थिति थप जटिल बनेको छ। इरानले प्रतिकार गर्ने चेतावनी दिएसँगै संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब, ओमान, कुवेतबहराइन जस्ता देशहरू उच्च जोखिममा परेका छन्। यी मुलुकहरूमा रहेका अमेरिकी सैन्य आधार र तेल प्रशोधन केन्द्रहरू सम्भावित मिसाइल तथा ड्रोन आक्रमणको निशानामा रहेको आकलन गरिएको छ।

खाडी क्षेत्रलाई विश्व ऊर्जा आपूर्तिको मुटु मानिन्छ। यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि गराएको छ भने आपूर्ति शृङ्खलामा अवरोध सिर्जना भएको छ।

नेपालको व्यापारमा प्रभाव

नेपालको वैदेशिक व्यापारको ठूलो अंश खाडी मुलुकहरूसँग जोडिएको छ। पछिल्लो व्यापारिक तथ्याङ्कअनुसार ती देशहरूसँग नेपालको व्यापार घाटा उच्च रहेको छ।

संयुक्त अरब इमिरेट्ससँग नेपालले ४१ अर्ब २ लाख ५१ हजार रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात १ अर्ब २२ करोड २६ लाख रुपैयाँ मात्र रहेको छ। यसरी करिब ३९ अर्ब ७७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको व्यापार घाटा रहेको देखिन्छ।

साउदी अरबसँग ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँको आयात हुँदा निर्यात २० करोड ४७ लाख रुपैयाँमा सीमित छ। कतारबाट ३ अर्ब ३४ करोड ९८ लाख रुपैयाँको आयात भएको छ भने निर्यात ७ करोड ९७ लाख रुपैयाँ मात्र छ। दुवै देशसँग नेपालको व्यापार घाटा अर्बौंमा पुगेको छ।

ओमानसँग २८ करोड ८९ लाख रुपैयाँ तथा बहराइनसँग २५ करोड ५१ लाख रुपैयाँको व्यापार घाटा रहेको छ। कुवेतसँगको व्यापार तुलनात्मक रूपमा सानो भए पनि २ करोड ८१ लाख रुपैयाँ घाटा छ। कुवेतबाट ७ करोड ६८ लाख रुपैयाँको आयात हुँदा ४ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ।

सुरक्षा चुनौती र आर्थिक जोखिम

खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारमा हुन सक्ने आक्रमणले नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने सम्भावना बढेको छ। यसले ढुवानी लागत बढाउने र उपभोग्य वस्तुको मूल्यसमेत महँगो बनाउने जोखिम छ।

त्यस्तै, ती मुलुकहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकको सुरक्षा अर्को प्रमुख चासोको विषय बनेको छ। द्वन्द्व चर्किएमा विप्रेषण आम्दानीमा असर पर्न सक्ने र त्यसले नेपालको शोधनान्तर स्थितिमा दबाब सिर्जना गर्न सक्ने देखिन्छ।

अमेरिकी सैन्य संरचना र तेल प्रशोधन केन्द्रहरूमा सम्भावित आक्रमणका कारण अन्तर्राष्ट्रिय यातायात र ढुवानी प्रणाली प्रभावित भएको छ। यसले नेपाल आउने वस्तुको लागत वृद्धि हुनुका साथै नेपाली उत्पादनलाई खाडी बजारसम्म पुर्‍याउन कठिनाइ थपिन सक्ने अवस्था छ।

मध्यपूर्वको तनावले नेपाललाई आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थातर्फ धकेले पनि दीर्घकालीन रूपमा वैकल्पिक बजार खोज्ने, ऊर्जा स्रोत विविधीकरण गर्ने र आन्तरिक उत्पादन सुदृढ गर्ने अवसरका रूपमा समेत लिन सकिने विश्लेषकहरूको धारणा छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार