पर्सामा शंकास्पद वस्तु भेटिँदा सुरक्षा सतर्क

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी सवार गाडीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायले उम्मेदवारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल कम्युनिस्ट पार्टी का तर्फबाट उम्मेदवार रहेका चौधरी सवार सवारी साधनलाई गएराति करिब ११ बजे नियमित जाँचका क्रममा रोकेर जाँच गर्दा पर्सागढी नगरपालिका–३ स्थित बढनियार चोकमा गाडीको डिक्कीभित्र शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि सो क्षेत्रलाई तत्काल सुरक्षा घेरामा राखिएको थियो। जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना को बम निष्क्रिय पार्ने टोलीले गाडीलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ सारेको छ।

उक्त गाडीमा उम्मेदवार मनोज चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र चालक मुन्ना अन्सारी सवार रहेका थिए। प्रहरीले गाडीमा रहेका सबै व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारकै सवारी साधनमा शंकास्पद वस्तु भेटिनुलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान र सुरक्षा निगरानीलाई थप कडा बनाएको छ। प्रहरीले घटनाको वास्तविकता खुलाउन प्राविधिक परीक्षण तथा सोधपुछ प्रक्रिया अगाडि बढाएको जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार