निर्वाचनअघि सुरक्षा सतर्कता: उम्मेदवार पक्राउ

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। घटनामा यादव नगदसहित नियन्त्रणमा लिइएका हुन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको थियो। सोही क्रममा उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले गाडीमा मतपत्रसमेत फेला परेको दाबी गरेका छन्। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पनि यसअघि पक्राउ परेका छन्। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर निगरानी र कारबाही कडा बनाएको बताइएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार