निर्वाचन सुरक्षा पूर्ण, मतपेटिका प्रक्रिया पारदर्शी

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडाैं । गृह मन्त्री ओमप्रकाश अर्याल ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदानपछि मतपेटिका एकीकृत सुरक्षा योजना अनुसार नै मतदान अधिकृतको कार्यालयमा पुर्‍याइने बताएका छन्। उनले मतपेटिका नेपाली सेनाले ओसार्ने भन्ने प्रचारबाजी पूर्ण रूपमा गलत भएको दाबी गरे।

मन्त्री अर्यालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना अनुरूप गरिएको र त्यसैको आधारमा देशभरि सुरक्षा संयन्त्र परिचालित भएको जानकारी दिए। उनका अनुसार ‘सबै संयन्त्रहरू मतदानस्थल पुगिसकेका छन् र जतिखेर जे आवश्यक पर्छ त्यसअनुसार सुरक्षा अवस्थालाई काबुमा राख्ने व्यवस्था मिलाइएको छ।’

उहाँले मतदानका लागि आवश्यक सबै सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगेको समेत जनाए। मतपत्रलाई नेपाली सेनाले मतदान अधिकृतको कार्यालयमा पुर्‍याउने भन्ने भ्रमबारे उनले स्पष्ट पार्दै भने, ‘जनक शिक्षामा छापिएका मतपत्र निर्वाचन क्षेत्रमा रहेको अधिकृतको कार्यालयमा पुग्नेछन्। मतदानस्थलसम्म पुर्‍याउने काम मतदान अधिकृतकै हो।’

मन्त्री अर्यालले मतपत्र राखिएको गाडीमा मतदान अधिकृत र ड्राइभर अघि, प्रहरी पछाडि र उम्मेदवारका प्रतिनिधि समेत पछि बस्ने व्यवस्था रहेको बताए। असुरक्षा भएमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गाडीलाई सुरक्षा दिने तथा आवश्यक परे नेपाली सेनाले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे।

उहाँले यो निर्वाचन पहिलाको भन्दा अझ सुदृढ र धाँधलीरहित हुने दाबी गर्दै भने, ‘यसले लोकतन्त्रको गुणस्तर सुरक्षित राख्नेछ र सुशासनको क्षेत्रमा ठुलो फड्को मार्नेछ।’

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार